कक्षा १२ को नतिजा सार्वजनिक, बोर्ड र टेलिकमको वेबसाइटबाट हेर्न सकिने

समाचार समाज

काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिनेछ । प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री गरिएको बोर्डले जनाएको छ ।

वैशाख र जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । 

बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । चाँडै नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो । 

यसअघि उत्तरपुस्तिका प्रदेश कार्यालयमा परीक्षण गरेर बोर्डको केन्द्रीय कार्यालयमा मात्रै इन्ट्री गरिन्थ्यो । कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको थियो ।

यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसअघि १ हजार १ सय परीक्षा परीक्षा केन्द्रमा मात्रै परीक्षा हुन्थ्यो । कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *