आरोहीका सारथि

राष्टिय समाचार

पोखरा — ‘कम उमेरका आरोही’, ‘बढी उमेरका आरोही’ । यस्तै–यस्तै अनेक कीर्तिमान कायम हुन्छन् । तोडिन्छन् । फेरि कायम हुन्छन् । शिखर चुम्नेको चर्चा चल्छ । तर ती आरोहीलाई शिखरसम्म पुर्‍याउने सारथि गुमनामजस्तै हुन्छन् । आरोहीलाई पटक–पटक टाकुरामा पुर्‍याएका पर्वतारोहण पथप्रदर्शक (गाइड) हुन्, अनुप गुरुङ र आशिष गुरुङ।  अनुप अन्तर्राष्ट्रिय लाइसेन्सप्राप्त गाइड हुन् भने आशिष राष्ट्रिय लाइसेन्सप्राप्त । कोरोना महामारीमा पर्वतारोहण गतिविधि फाट्टफुट्ट मात्रै भइरहेका बेला यी दुई गाइडले ६ स्वदेशी आरोहीलाई मुस्ताङको धम्पुस हिमाल (६०१२ मिटर) चढ्न सघाए ।

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशको आयोजनामा पुस २७ देखि माघ ५ सम्म प्रारम्भिक पर्वतारोहण तालिम तथा प्रवर्द्धनात्मक आरोहण कार्यक्रम भएको थियो । पोखरामा रहेका व्यावसायिक ट्रेकिङ गाइड तथा कम्पनी सञ्चालकको आरोहण दलमा सहभागिता थियो । गुरुङद्वयकै पथप्रदर्शनमा उनीहरूले माघ ३ मा धम्पुस हिमालको चुचुरो चुमे ।गोरखाको बारपाक–सुलिकोट गाउँपालिका–३ चिसापानीका अनुप बुबाको प्रेरणाले यो पेसामा लागेका हुन् । उनका बुबा सन्त पनि पर्वतारोहण गाइड हुन् । काठमाडौं बसेर पढ्न थालेदेखि नै उनलाई पर्वतारोहणमा रस बस्यो । सन् २००८ मा २३ वर्षको उमेरमा उनी तालिमबिनै अन्नपूर्ण हिमशृंखलामा रहेको टेन्ट पिक (५६६३ मिटर) चढे । त्यसपछि भने उनलाई तालिमको आवश्यकता खड्कियो । आफ्नै सुरक्षाका लागि पनि तालिम आवश्यक पर्ने उनले ठाने । लाङटाङ, मनाङ र रोल्वालिङका हिमालमा तालिमका लागि पुगे । खुम्बु क्षेत्रमा रहेको आइल्यान्ड पिक (६१८९ मिटर) चढे ।

सन् २०१२ को शरदमा दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्ने उनको प्रयास सफल हुन सकेन । अर्को वर्ष उत्तरी मोहडाबाट गरेको प्रयास भने सफल भयो । सन् २०१७ र २०१८ मा आरोहण दल लिएर उनी पुनः सगरमाथा उक्लिए । उनले धौलागिरि, मनास्लु, ल्होत्सेलगायत हिमालमा पनि आरोहीलाई पुर्‍याइसकेका छन् । उनका अनुसार अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको लाइसेन्स लिन ‘पोर्टफोलियो’ बलियो बनाउनुपर्छ ।एक वर्षको तालिम अवधिपछि राष्ट्रियस्तरको लाइसेन्सका लागि परीक्षा दिनुपर्छ । उक्त लाइसेन्स लिएको २ वर्षपछि मात्रै अन्तर्राष्ट्रिय गाइड लाइसेन्सको लागि आवेदन दिन पाइन्छ । तालिमलगत्तै परीक्षा हुन्छ । परीक्षा २५ प्रतिशत सैद्धान्तिक र ७५ प्रतिशत प्रयोगात्मक हुन्छ । परीक्षा उत्तीर्ण भएपछि मात्रै स्विट्जरल्यान्डबाट लाइसेन्स जारी हुन्छ । नेपाल पर्वतारोहण संघ र नेपाल पर्वतारोहण प्रशिक्षक संघले तालिम प्रदान गर्छन् । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले लाइसेन्सका लागि सहजीकरण गर्छ । उनीजस्तै अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड नेपालमा ७२ जना छन् । राष्ट्रिय गाइड भने ६ जना ।

अनुपले २० देखि ५५ वर्ष उमेरसम्मका आरोहीलाई हिमाल चढाएका छन् । उनी वर्षमा ४ देखि ५ वटासम्म टोलीलाई हिमाल चढाउँछन् । पर्वतारोहण अवधि १४ दिनदेखि १ महिनासम्मको हुन्छ । गाइड बन्न समय, पैसा र इच्छाशक्ति सबै चाहिने उनी बताउँछन् । ‘मेरो पालामा १० लाख रुपैयाँ खर्चिनुपर्‍यो,’ उनले भने, ‘अहिले यो खर्च अझै बढ्छ ।’ तालिमकै बेलामा रकम अभाव हुँदा छोड्ने मनस्थिति बनाए पनि बुबाकै प्रेरणाले निरन्तरता दिएको उनले सुनाए । पर्वतारोहण गाइडको भविष्य के हुने भन्ने पनि उनलाई चिन्ता छ । ‘यो पेसा शरीरले साथ दिँदासम्म मात्रै गर्ने हो,’ उनी भन्छन्, ‘सरकारले बुझेर बुढेसकालमा पेन्सन दिने व्यवस्था मिलाए राम्रो हुन्थ्यो ।’एक वर्षपछि अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको परीक्षा दिँदै छन्, आशिष गुरुङ । संखुवासभाको भोटखोला गाउँपालिका–४ का उनी ‘किचन ब्वाय’ हुँदै पर्वतारोहणको क्षेत्रमा प्रवेश गरेका हुन् । सन् २००९ मा दुबई जान भन्दै काठमाडौं आएका उनले पाककला सिके । भिसा नलागेपछि नेपाल नै बस्ने निधो गरे । यस्तोमा मनास्लु हिमाल चढ्न जाने आरोहण दलको भान्से समूहमा परे । त्यतिबेलादेखि उनी हिमालसँग झन् नजिक भए ।आरोहण दलको भान्सामा छिरेका उनी पर्वतारोहण गाइड भएर निस्किए । उनले सगरमाथा, मनास्लु, आमादब्लम, ल्होत्सेलगायत हिमालमा आरोहण दल पुर्‍याइसकेका छन् । उनी जापानी टिमलाई बढी हिमाल चढाउँछन् । जापानी भाषा पनि बोल्छन् । एक जापानी नागरिकको सगरमाथामा भएको मृत्युले भने उनलाई नमीठो सम्झना दियो । सन् २०१८ को मे २१ मा क्याम्प–२ भन्दा माथि पुगेका थिए, ती जापानी नागरिक ।

आशिषसँग वाकिटकीमा ती आरोहीको अन्तिमपल्ट कुराकानी भयो । कुराकानी भएको १५ मिनेटपछि उनीसँको सम्पर्क टुट्यो । तातो पानी बोकेर आशिष उद्धारमा निस्किए । बिहान २ बजेसम्म यताउता खोजे । कतै भेटेनन् । ‘म क्याम्पमा फर्किंदा शरीर जम्न थालिसकेको रहेछ,’ उनले भने, ‘दुई घण्टाजति आराम गरेर फेरि खोज्न निस्किएँ ।’क्याम्प–२ मा बिहान ८:३० बजे घाम लाग्छ । सेताम्मे हिउँमा घाम परेपछि रातो वस्तु टल्कियो । उनी त्यतै लम्किए । जति नजिक गए, उति उक्त वस्तुको आकार बढ्दै गयो । नजिकै गएपछि थाहा भयो, त्यो वस्तु तिनै जापानी नागरिकको शव थियो । ‘मलाई किचन ब्वायदेखि नै उहाँले अवसर दिनुभएको थियो । उहाँकै कारण म क्लाइम्बिङ लिडरसम्म भएँ,’ आशिषले भने, ‘एघारौंपल्ट सँगै चढ्दा उहाँलाई गुमाउनुपर्‍यो ।’यसपल्ट मध्य हिउँदमै अनुप र आशिषले धम्पुस पिक आरोहण गराए । प्राविधिक रूपमा कठिन नभए पनि हिउँदमा आरोहण गर्नु जोखिमयुक्त नै हुने आशिष बताउँछन् । यो बेला मौसमलाई मध्यनजर गर्दै हिमाल चढ्नुपर्ने उनको सुझाव छ ।अनुकूल मौसममा आममानिसले पनि धम्पुस पिक चढ्न सक्ने उनले बताए । त्यसका लागि नेपाल सरकारले आरोहण अनुमति प्रक्रिया भने सहज बनाउनुपर्ने उनले सुझाए । ‘नेपाल पर्वतारोहण संघ मातहतका हिमाल आरोहण अनुमति प्रक्रिया सहज छ,’ उनी भन्छन्, ‘नेपाल सरकारले आरोहण अनुमति दिने हिमालको लागि धेरैतिर धाउनुपर्ने समस्या छ । यसको अन्त्य हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *