रेम्डेसिभिर सिफारिस नभए पनि व्यापक प्रयोग

समाज स्वास्थ्य

‘कोरोनाका गम्भीर संक्रमितमा रेम्डेसिभिरले काम गरेको प्रमाणित भएको छैन’

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले करिब ६ महिनाअघि नै कोभिड–१९ को उपचारमा ‘रेम्डेसिभिर’ उपयुक्त नठहरिएको स्पष्ट गरे पनि यसको हारालुछ भइरहेको छ । सहजै उपलब्ध नहुने यो खोप चिकित्सकले सिफारिस गरेपछि ‘ज्यान जोगाउने आसमा’ बिरामीका आफन्तले महँगो मूल्यमा किन्ने गरेका छन् । औषधि व्यवस्था विभागले यसको मूल्यप्रति भाइल ४ हजार ८ रुपैयाँ तोकेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले रेम्डेसिभिरलाई कोभिडको उपचारका लागि डब्लूएचओले सिफारिस नगरेको र नेपाल सरकारले पनि प्रस्ताव नगरेको बताए । ‘स्वास्थ्यकर्मीले बिरामीलाइ केही दिनुपर्छ भन्ने अपेक्षाका कारण यसको प्रयोग भइरहेको छ,’ उनले भने, ‘तर यसले काम गरेको प्रमाणित पनि भएको छैन ।’

डब्लूएचओले गत नोभेम्बर २० मै पाँचवटा क्लिनिकल परीक्षणमा अस्पतालमा भर्ना भएका बिरामीको मृत्युदर घटाउन वा उनीहरूको यान्त्रिक भेन्टिलेटरको आवश्यकता कम गर्न रेम्डेसिभिरले मद्दत गरेको देखिएन भनेर स्पष्ट गरेको थियो । रेम्डेसिभिरलाई कोभिड–१९ को उपचारमा जीवन रक्षकका रूपमा नभई आपत्कालीन स्थितिमा उपयोगका लागि मञ्जुरी दिइएको छ । यसको उपयोगले कोभिड संक्रमितको ज्यान जोगाउन सकेको हालसम्म भएका अध्ययनमा देखिएको छैन ।

स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायल गत वर्ष गर्ने क्रममा अस्पतालमा रेम्डेसिभिर निःशुल्क उपलब्ध गराएर प्रयोग गरिएपछि यो वर्ष यसको हाहाकार भएर कालाबजारीसमेत भएको हो । यो औषधि करिब एक दशकअघि हेपाटाइटिस ‘सी’ र सार्ससम्बन्धी भाइरस (आरएसभी) को उपचार गर्न अमेरिकी औषधि कम्पनी मेसर्स गिलियड साइन्सेजले बनाएको थियो । रेम्डेसिभिरले कोभिड बिरामीको ज्यान नजोगाए पनि यसप्रतिको निर्भरता अत्यधिक बढेको छ ।

‘बिरामीका आफन्त आफैंले रेम्डेसिभिर दिने होइन भनेर सोध्नेसमेत गरेका छन्,’ राष्ट्र्रिय क्षयरोग केन्द्रका बरिष्ठ छाती रोग विशेषज्ञ डा.नवीनप्रकाश शाहले भने, ‘आम व्यक्तिले यसलाई जादूको छडीजस्तै कोभिड निको पार्ने ठानिरहेका छन् र यसमा अनावश्यक खर्च गरिरहेका छन् ।’ अल इडिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) का निर्देशक डा. रणदीप गुलेरियाले भारतीय सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा भनेका छन्, ‘रेम्डेसिभिर कुनै जादूको गोली होइन, न त मृत्युदर कम गर्न सकिने औषधि हो । कोभिडका लागि कुनै उपयुक्त एन्टिभाइरल औषधि उपलब्ध नभएकाले यसको प्रयोग भइरहेको छ ।’

स्टेराइड उपयोगी तर ‘ओभरडोज’ घातक

पछिल्लो समय कोभिड–१९ बिरामीको उपचारमा स्टेराइड उपयोग भइरहेको छ । यसको उपयोग पछिल्लो समय प्रभावकारी देखिएको दाबी गरिएको छ । तर चिकित्सकको सल्लाहबिना स्टेराइड उपयोग गर्नु हुँदैन । यसको ओभर डोजले शरीरमा घातक असर पार्न सक्छ ।

बेलायतमा गत वर्ष भएको ‘रिकभरी ट्रायल’ पछि कोभिडका गम्भीर बिरामीमा स्टेराइडको प्रयोग व्यापक हुन थालेको हो । यसको उपयोगले अक्सिजन सपोर्ट वा भेन्टिलेटरमा रहेका बिरामीमा मृत्युदर कम भएको थियो । यसअन्तर्गतका डेक्सामेथासोन, हाइड्रोकार्टिर्सोन र मिथाइलप्रेडिसोलोनजस्ता कार्टिकोस्टेराइडले बिरामीमा इम्युनिटी बढाउनुका साथै शरीरमा भएको सुन्नाइ कम गर्ने देखिएको राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. शाहले भने । ‘यो स्टेराइड कोभिडका गम्भीर बिरामीलाई दिने गरिन्छ,’ उनले भने ।

डब्लूएचओका अनुसार डेक्सामेथासोन एन्टी इन्फ्लामेट्री र इम्युनोसप्रसेन्ट प्रभावका लागि थुप्र्रै अवस्थामा उपयोग गरिन्छ । यो बेलायतमा ‘नेसनल क्लिनिकल ट्रायल रिकभरी’ अन्तर्गत कोभिड अस्पतालमा परीक्षण गरिँदा गम्भीर बिरामीका लागि फाइदा भएको पाइएको थियो । डब्लूएचओसँग सेयर गरिएको प्रारम्भिक निष्कर्षअनुसार यसले भेन्टिलेटरमा भएका बिरामीको मृत्युदर एक तिहाइले कम गर्ने देखिएको छ भने मात्र अक्सिजन चाहिने बिरामीमा मृत्यु दर पाँच भागको एक भाग कम गर्ने देखिएको थियो ।

डब्लूएचओको सिफारिसअनुसार कार्टिकोस्टेराइड मुखबाट औषधिका रूपमा वा नशाबाट सुईको रूपमा गम्भीर कोभिड बिरामीलाई दिन सकिन्छ । तर बिरामीले कुनै अन्य स्वास्थ्य अवस्थाका कारण पहिलेदेखि नै स्टेराइड लिइरहेको अवस्था नभए गम्भीर नभएका संक्रमितलाई कार्टिकोस्टेराइड उपयोग नगर्न डब्लूएचओले सुझाएको छ । यो स्टेराइड दिनमा एकपटक गरी सातदेखि १० दिनसम्म चिकित्सकले प्रस्ताव गर्न सक्छन् ।

छातीरोग विशेषज्ञ डा.शाहले हाल मुलुकमा भाइरस फोक्सोमा फैलिन लाग्दा र अक्सिजनको स्तर अचानक तल झर्न लाग्दा एन्टिभाइरल औषधि दिने गरिएको बताए । ‘जब बिरामीको शरीरमा इन्फलामेट्री रियाक्सन (सुन्निने) बढ्न थाल्छ तब स्टेरोइड आवश्यक पर्छ । यो औषधिले संक्रमणबाट हुने मृत्यु २० प्रतिशतसम्म घटाउन सक्छ,’ उनले भने । कोभिडका दुई चरणअन्तर्गत पहिलो चरणमा शरीरमा भाइरस फैलिने हुनाले ज्वरो वा ‘कन्जेसन’ को समस्या हुन्छ ।

कतिपय समय भाइरस फैलिन लाग्दा र अक्सिजनको स्तर अचानक झर्न लाग्दा एन्टिभाइरल औषधि दिइने गरिएको डा. शाहले बताए । यस्तै अर्को चरणमा संक्रमितको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) ले काम गर्न बन्द गरेपछि र शरीरमा इन्फ्लामेट्री रियाक्सन बढ्न थालेपछि स्टेरोइड आवश्यक हुन्छ । स्टेराइडलाई सुरुकै अवस्था (स्टेज) मा दिइयो भने शरीरमा भाइरसले तीव्र गतिमा आफ्नो संख्या विस्तार गर्न सक्ने जोखिम रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *