तातोपानी आइपुग्यो व्यापारीले चीनबाट ल्याएको अक्सिजन सिलिन्डर

Uncategorized

तातोपानी नाका, सिन्धुपाल्चोक — तातोपानी नाकाबाट सोमबार दिउँसो १२ बजे अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री भित्रिएका छन् । नेपाली व्यापारीले चीनको स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिन्डर चिनियाँ कन्टेनरमार्फत ल्याएका हुन् । 

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाका अनुसार व्यापारिक प्रयोजनका लागि व्यवसायीले १८ हजार सिलिन्डर ल्याएका हुन् । ‘हालै भित्रिएका चार कन्टेनरमध्ये दुई कन्टेनरमा स्याउ र अन्यमा खाली सिलिन्डर छन्, अरु कति आउँदै छ त्यो आएपछि थाहा हुनेछ,’ सीमास्थित ‘बीओपी’का सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठले भने । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार कन्टेनर नेपाल भित्र्याइएको उनको भनाइ छ ।

आइतबार नै स्वास्थ्य सामग्री नाकामा आइपुगेको भनेर प्रचार गरिएको थियो । तर तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार स्वास्थ्य सामग्री सोमबार दिउँसो मात्रै तातोपानी नाका आइपुगेको हो । ‘तातोपानी बजारमा कन्टेनर आइपुगेको छ, यहाँ आएपछि कन्टेनर खोलेर सम्पूर्ण तथ्यांक संकलन र वितरणमा जुट्नेछौँ, हामी सबै त्यसकै तयारीमा छौँ,’ उनले भने ।

व्यावसायिक प्रयोजनका लागि ल्याइएका ७५ सय सिलिन्डरसहित अन्य सामग्री भन्सार प्रक्रिया पुर्‍याएर आइतबार खासा क्षेत्रमा आइपुगे पनि सोमबार नाकामा आइपुगेको उनले उल्लेख गरे । व्यवसायीको भनाइअनुरुप बाटोमा रहेकामध्ये दस हजार सिलिन्डर एभरेस्ट ग्यासका सञ्चालक शिवप्रसाद घिमिरे र व्यवसायी दीपक मल्होत्राले आयात गरेका हुन् ।

चीनले अनुदानमा दिएको भनी प्रचार गरिएपछि…

आइतबार बिहान राष्ट्रिय समाचार समिति (रासस) मा अक्सिजन सिलिन्डर तातोपानी नाका आइपुगेको समाचार प्रकाशित भएको थियो । राससमा प्रकाशित समाचार अन्य सबैजसो सञ्चारमाध्यमले पनि प्रकाशित गरे । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेको भनाइ उद्धृत गरिएको उक्त समाचारमा ती सिलिन्डर चीन सरकारले अनुदानमा दिएको उल्लेख थियो । सुरुमा प्रेस सल्लाहकार पाण्डेले चीनबाट १८ हजार सिलिन्डर आउँदै गरेको भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।

तर ती सामग्री चिनियाँ अनुदानमा नभई व्यवसायीले ल्याएको सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले खुलाए । ‘त्यो नितान्त प्राइभेट खरिद हो, सरकारी भन्ने कुनै जानकारी हामीले पाएनौँ,’ उनले भने । तर यसलाई अनुदानमा दिएको सिलिन्डर सरकारले छिट्टै ल्याएको भनी सरकारमा रहेका जिम्मेवार व्यक्तिले प्रचार गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *