हाकिम बिनाको एक कम्पनी जहाँ कर्मचारीको तलब सहकर्मीले तोकिदिन्छन्

राष्टिय समाचार

काठमाडौं । एरियल उमान्सकीले सन् २०२० को डिसेम्बर महिनामा आफ्नो ७ प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरे । उनको विचारमा उनको तलब वृद्धि अन्य सहकर्मीहरुको तलबसँग तुलना गर्दा न्यायोचित थिएन । ‘१० पाइन्स’ कम्पनीमा उनले तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको यो दोस्रो पटक थियो ।

आफूसरह वा आफूभन्दा राम्रो कार्य सम्पादन गरिरहेका सहकर्मीहरुको अगाडि तलब वृद्धि स्वीर्कान असहज भएको र ठगी गरेको जस्तो महशुस भएको उनको भनाइ छ ।

‘१० पाइन्स’ नामको यो अर्जेन्टिनी कम्पनीमा वर्षको ३ पटक कर्मचारीहरुको तलबको मूल्याङ्कन र निर्णय हुन्छ । तलब बढाउनका लागि कर्मचारी आफैंले प्रस्ताव गर्न सक्छन् र त्यसका बारे खुला छलफल हुने गर्छ ।

८५ जना कर्मचारी रहेको यो प्रविधि सम्बद्ध कम्पनी सन् २०१० मा स्थापना भएको हो । अर्जेन्टिनाको ब्रुनो आयर्समा रहेको यो कम्पनीले स्टारबक्स, बर्गर किङ जस्ता ब्राण्डहरुको लागि सफ्टवेयर बनाउने गर्छ ।

हरेक वर्ष यो कम्पनीको खुद नाफाको ५० प्रतिशत कर्मचारीहरुलाई नै बाँडिन्छ । ‘१० पाइन्स’मा तलबका बारेमा खुला छलफल हुनुको उद्देश्य सबैका तलबका बारेमा जानकारी गराउनु भन्दा पनि कसले को भन्दा बढी वा घटी कमाउँछ भन्ने जानकारी गराउने र कम्पनीको सोपानतन्त्रको बारेमा पनि जानकारी गराउनु हो ।

‘१० पाइन्स’ संभव भएसम्म सोपानतन्त्र बिनाको (तह बिनाको) कम्पनी बन्ने उद्देश्य राख्ने कम्पनी हो । नयाँ कर्मचारीहरुले पनि ३ महिनाको परीक्षणकाल पनि सबै छलफलमा भाग लिन पाउँछन् र आफ्ना तलबको बारेमा पनि खुला छलफल गर्न पाउँछन् ।

यस कम्पनीमा समग्र व्यवस्थापन हेर्ने प्रमुख कार्यकारी वा व्यवस्थापक भन्ने नै छैन । केही सिनियर कर्मचारीहरु छन् जसलाई ‘एसोसियट’ वा ‘मास्टर’ भनिन्छ । ‘यहाँ हाकिम भन्ने नै नभएको हुँदा तलबको बारेमा पनि समूहमै छलफल हुन्छ र त्यसको अधिकार पनि सहकर्मीहरुलाई नै दिइएको छ,’ कमपनीका सह–संस्थापक एवं मास्टर जोर्ज सिल्भा बताउँछन् । ‘हामी अमेरिकामा जस्तो तलबमा भेदभाव चाहँदैनौ,’ उनी भन्छन् ।

नयाँ कर्मचारीहरुले पनि आफनो तलबको बारे समूहमै कुरा राख्छन् र समूहले नै अनुभवको आधारमा तलब निर्धारण गर्छ । नयाँ कर्मचारी भर्ती गर्दा पनि उसले सबै कर्मचारीहरुसँग भेटघाट र कुराकानी गर्छ । यो बेला प्रविधिक भन्दा पनि व्यक्तिगत कुराकानी नै हुन्छ ।

१० पाइन्सले आफ्नो यो तरिकालाई ‘सोसियोक्रेसी’ (सामाजिकतन्त्र ?) को नाम दिएको छ । यस्ता अग्रगामी र पारदर्शी कम्पनीहरुको संख्या अहिले विश्वमा बढिरहेको ह्युमान एक्सपिरियन्स एट वर्कका लेखक बेन विटरको भनाइ छ । उनको विचारमा पारदर्शी तलबले खेल मैदानलाई सम्म बनाउने र महिला र पुरुष बीचको विभेद पनि हटाउन सहयोग पुग्न सक्छ ।

तलब आफूले चिन्ने र आफूलाई चिन्ने मानिसहरुले नै निर्धारण गर्ने हुँदा यो प्रष्ट र जवाफदेही हुने पनि विटरको भनाइ छ ।

यो विधिका चुनौती पनि नभएका होइनन् । अहिले १० पाइन्सले ८० जना कर्मचारी हुँदा जसरी यो विधि अवलम्बन गरिरहेको छ पनि १६० जना हुँदा त्यसो गर्न कठिन हुनसक्छ । यसका अलावा समूहमा निर्णय गर्दा मानिसहरुको व्यक्तिगत सोच बाहिर नआउन पनि सक्छन् । समूहमा बोल्दा मानिसहरु यस्ता कुरा गर्न सक्छन् जुन उनीहरुले व्यक्तिगत तहमा गर्दैनन् वा सोच्दैनन् ।

केही फाइदा र केही चुनौतीहरुका बाबजुद कम्पनी चलाउने यो नयाँ प्रयोग भने हुँदै हो । अहिले पूँजीवादी विश्वमा कम्पनीहरु निर्मम र व्यक्ति केन्द्रित भइरहेको र सम्पक्ति कम्पनीका मालिकहरुको मात्र हातमा पुग्ने गरेको बेला यस्ता नयाँ ढंगले चलिरहेका कम्पनीहरु पनि चासोका विषय पक्कै पनि हुन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *