खोपमा पनि मिसन कमिसन : ३२ करोड ४३ लाख कमिसनको दाउमा तीन करोड नागरिकको जीवनमाथि खेलबाड

समाचार

सेरम, हुकम र स्वास्थ्य सेवा विभागबीच प्रसार भएका दस्ताबेज भन्छन्– ५० लाख डोज खोप खरिदमा ३२ करोड ४३ लाख रुपैयाँ कमिसन लिने खेल थियो । एजेन्ट यति शक्तिशाली थिए, उनीहरूको विपक्षमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्न सकेन, दबाब र प्रभावबीच मन्त्रालय एक महिनासम्म अनिर्णयको बन्दी हुँदा भारतबाट खोप निर्यात रोकियो ।२० लाख डोज खोप खरिदमा नौ करोड ३६ लाख कमिसन खाने प्रयास सेरमको पत्रले असफल : हुकमले प्रतिडोज ४.४ डलरमा खोप ल्याउन स्वास्थ्य सेवा विभागलाई प्रस्ताव दिएको दुई सातापछि सेरमले नै पत्र लेखेर भन्यो– ४ डलरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइदिन्छौँ । पहिलो प्रयासमा हुकम असफल भयो ।

कोभिड महामारी सुरु हुनासाथ स्वास्थ्य सामग्री खरिदमा ओम्नी इन्टरनेसनलसँग बदनियतपूर्ण सम्झौता गरेको भनेर आलोचित सरकार खोप खरिदमा पनि बिचौलियाको प्रभावमा परेको छ । भारतको खोप उत्पादक सेरम इन्स्टिच्युटको स्थानीय एजेन्टको दबाबमा पर्दा सरकार अनिर्णयको बन्दि बन्यो, जसका कारण तत्काल ५० लाख खोप ल्याउने असाधरण अवसर गुमेको छ । सेरम, हुकम र स्वास्थ्य सेवा विभागबीच प्रसार भएका दस्ताबेज नयाँ पत्रिकाले प्राप्त गरेको छ । यी दस्ताबेज भन्छन्– ५० लाख डोज खोप ल्याउन तीन अर्ब ५६ करोडको खरिद सम्झौताबाट ३२ करोड ४३ लाख रुपैयाँ कमिसन लिने खेल थियो । सरकार र सेरमबीच स्थापित सम्बन्ध विच्छेद गराइसकेका यी एजेन्ट निकै शक्तिशाली थिए, उनीहरूको विपक्षमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्न सकेन । दबाब र प्रभावबीच मन्त्रालय एक महिनासम्म अनिर्णयको बन्दी हुँदा भारतबाट खोप निर्यात रोकियो । अब खोप कहिले आउने, भन्न सक्न कोही छैन । 

गत १६ जनवरी (३ माघ)मा भारतमा खोप अभियान सुरु भएपछि भारतले छिमेकी देशहरूलाई पनि अनुदानमा खोप दिने घोषणा गरेको थियो । लगत्तै ८ माघमा भारतबाट १० लाख डोज खोप आएको थियो । सो खोप भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए । साथै, साँझ बालुवाटारमा आयोजित समारोहमा राजदूत क्वात्राले प्रधानमन्त्री केपीलाई सोही खोप हस्तान्तरण गरेका थिए । भारतमा खोप उपलब्ध भएपछि नेपाल सरकारले पनि खरिद प्रक्रिया अघि बढाएको थियो । यद्यपि, छिमेकी बंगलादेशदेखि मध्यपूर्वका कैयौँ देशले खोप किन्न तीन महिनाअघिदेखि नै औपचारिक सम्झौता गरेका थिए । तर, नेपालको पहल भने अनौपचारिक संवादमा सीमित थियो । भारत, चीन, रुस, बेलायत, अमेरिकालगायतका देशमा खोप विकसित भइरहेका खबर आउन थालेपछि मन्त्रिपरिषद्ले खोप खरिदसम्बन्धी निर्देशिका पारित गरेको थियो । तर, २० लाख डोज खरिदका लागि भने ४ फागुनमा मात्र निर्णय भएको थियो । 

यसरी अनुदानमा खोप आएको २६ दिनपछि ४ फागुनमा मात्र सरकारले भारतको सेरम इन्स्टिच्युटसँग खोप खरिदसम्बन्धी सम्झौता गरेको थियो । भारत सरकारले सहजीकरण गर्ने गरी नेपाल सरकारले किन्ने प्रक्रिया (जिटुजी)बाट सेरमसँग २० लाख डोज खरिद गर्न मन्त्रिपरिषद्बाटै निर्णय भएको थियो । प्रतिडोज चार डलरका दरले २० लाख डोजको ८० लाख डलर (९३ करोड ६० लाख रुपैयाँ) नेपालले भुक्तान गर्ने सम्झौता भएको थियो । त्यसमा पनि सेरमको सर्तअनुसार कुल रकमको ८० प्रतिशत अर्थात् ७४ करोड अग्रिम भुक्तानी पठाउन मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।‘सेरमले खोप दिने, तर ८० प्रतिशत अग्रिम भुक्तानी दिन प्रस्ताव ग¥यो । नेपालको सार्वजनिक खरिद नियमावलीले सामग्री प्राप्त नहुँदै त्यति ठूलो रकम अग्रिम भुक्तानी दिन मिल्दैन । तर, महामारीको समय भएकाले मन्त्रिपरिषद्बाट निर्णय भएको हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नयाँ पत्रिकासँग भने । भारत सरकारले सहजीकरण गर्ने र नेपाल सरकारले किन्ने भनेर प्रचारप्रसार भएको खोपमा १० प्रतिशत कमिसन माग्दै हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक प्रालि पनि सक्रिय भइरहेको थियो । विजय दुगड र उनका छोरा अभिषेक दुगड तथा सुरज वैद्य र उनकी श्रीमती रितुसिंह वैद्य सेयरहोल्डर रहेको कम्पनी कमिशनका लागि निकै चनाखो भएर सक्रिय भएको थियो । प्रभावशाली उद्यमी वैद्यलाई प्रधानमन्त्रीले भिजिट नेपाल २०२० को संयोजक समेत बनाएका थिए । नयाँ पत्रिका बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *