महामारी फैलिनुमा कसको कमजोरी ?

समाचार

समय हुँदाहुँदै पनि होल्डिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसन, अस्पतालमा बेड तथा जनशक्ति व्यवस्थापनको तयारी गरिएन, नाकामा बेलैमा निगरानी भएन । अहिले संक्रमित बढेर उपचार पाउनै गाह्रो हुन थालेको छ । अस्पतालमा जनशक्ति, बेड, अक्सिजनलगायतका पूर्वाधार अपुग देखिएको छ । भारतमा हरेक दिन ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिन्छन् । नेपालमा पनि सात हजारभन्दा बढी थपिन थालेका छन् । अवस्था भयावह बन्दै छ । आम नागरिक भयभीत छन् । राज्यका संयन्त्रहरू संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा प्रभावकारी हुन सकेका छैनन् ।

यो स्थिति रातारात आएको भने होइन । यसमा सरकार, सरकारी संयन्त्र, राजनीतिक दलदेखि आम नागरिकसमेतको लापरबाही छ । कोरोनालाई ख्यालख्याल ठान्दा नै यो स्थिति निम्तिइएको हो ।भारतको बंगाल खाडीको हावाले नेपालमा पानी पर्ने, राजस्थानको धूलोले यहाँ प्रदूषण हुने, भारत हुँदै आएको सलहले यताका खेतीलाई ध्वस्त पार्ने दृष्टान्त हुँदाहुँदै सीमापारि कोरोना संक्रमण भयावह भइरहँदा यता रोकथाम, नियन्त्रण र उपचारका लागि तयारी नगर्नु मूर्खता सावित भएको छ । सरकारले कोभिड–१९ को पहिलो लहरसँग जुध्न २०७६ चैत ११ गते लकडाउन गरेको थियो । भारतमा त्यसअघि नै संक्रमण फैलिएर ठाउँठाउँमा लकडाउन गरिएको थियो । सीमा नाका सिल गरेर नेपाल–भारत आउजाउ बन्द गरिएको थियो । त्यस बेला नाकामा हजारौंले सास्ती बेहोर्नुपर्‍यो । कतिपय लुकीछिपी भित्रिए । भारतमा कोरोनाको दोस्रो लहर सुरु हुँदा गत वर्षकै जस्तो स्थिति यता पनि आउँछ भनेर सावधानी अपनाउन ध्यान दिइएन ।

चैतको सुरुवातमै भारतमा कोरोनाको दोस्रो लहर आएको र नेपालमा पनि स्थिति भयावह हुन सक्ने आकलन केही निकायले गरेका थिए । सुरक्षा निकायले भारततर्फका सम्पूर्ण नाकामा कडाइ गर्नुपर्ने भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई जानकारी गराएका थिए । तर सीसीएमसी कानमा तेल हालेर बस्यो । ‘हाम्रो सरकार भारतलाई बिच्काउन चाहँदैन थियो, त्यसैले थाहा पाएर पनि समयमै केही कदम चालेन,’ एक सुरक्षा अधिकारीले भने । खुला सीमा नियमन गर्न सरकारले तत्कालै कुनै योजना बनाएन ।

समय हुँदाहुँदै पनि होल्डिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसन, अस्पतालमा बेड तथा जनशक्ति व्यवस्थापनमा तयारी गरिएन । अहिले मुलुकभर कोरोनाको दोस्रो लहर फैलिरहँदा संक्रमितलाई उपचार पाउनै गाह्रो हुन थालेको छ । अस्पतालमा जनशक्ति, बेड, अक्सिजनलगायत पूर्वाधार अपुग देखिएको छ । समयमै उपचार नपाएर संक्रमितको ज्यान गइरहेको छ । सीसीएमसीले नै मुलुकमा दोस्रो लहरको संक्रमण फैलिनुमा सरकारका सबै निकाय दोषी रहेको निचोड निकालेको छ । ‘हामी सबैको गल्ती भएको छ भन्ने निचोड हाम्रो अध्ययनले देखायो,’ सीसीएमसी स्रोतले भन्यो, ‘अब यस्तो कमजोरी दोहोर्‍याउनु हुन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *