नेपालगन्जका घरघरमा संक्रमित

समाचार स्वास्थ्य

परीक्षण गरिएकामध्ये ८० प्रतिशतसम्म संक्रमण पुष्टि, निको हुने दर घटेकोमा चिन्ता, २०–४० वर्षका सबैभन्दा प्रभावित बाँके, रुपन्देही — कोरोना संक्रमणको दोस्रो लहरले बाँकेको नेपालगन्जलाई चपेटामा पारेको छ । सीमावर्ती सहरका घरघरमै संक्रमित बढिरहेका छन् । प्रत्येक दिन परीक्षण गरिएका स्वाबका नमुनामध्ये ८० प्रतिशतसम्ममा संक्रमण पुष्टि भइरहेको हो । दिनहुँ ठूलो संख्यामा संक्रमित थपिन थालेपछि यहाँका सरकारी र निजी अस्पतालले बिरामीको चाप थेग्न सकेका छैनन् । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । यहाँस्थित प्रयोगशालाका अनुसार संक्रमितमध्ये धेरै सहरकै छन् । नेपालगन्ज उपमहानगरका भृकुटीनगर, कोरियनपुर र कारकाँदोका घरघरमै संक्रमित छन् । यी प्रमुख आवास क्षेत्र हुन् । यहीँ बसोबास गरिरहेका व्यक्ति संक्रमणको सिकार हुन थालेपछि स्थानीयमा त्रास बढेको छ । स्थानीयले संक्रमण ‘भुसको आगो’ झैं फैलिरहेको बताएका छन् ।

संक्रमितको सम्पर्कमा आएका र कोरोनासँग मेल खाने लक्षण देखिएपछि बिहीबार भेरी अस्पतालको प्रयोगशालामा २ सय ८८ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये २ सय १४ जनामा संक्रमण देखियो । बिहीबार परीक्षण गरिएकामध्ये साढे ७४ प्रतिशतमा संक्रमण देखिएको हो । नयाँ संक्रमितमध्ये १ सय ३२ पुरुष र ८२ महिला छन् । १ सय ९२ जना नेपालगन्ज उपमहानगरका मात्रै छन् । प्रयोगशालाका अनुसार अधिकांश संक्रमित नेपालगन्ज–१० भृकुटीनगर, नेपालगन्ज–१२ कोरियनपुर र नेपालगन्ज–१८ कारकाँदोका छन् । बर्दियाका १२ र सुर्खेतका ३ जना छन् । संक्रमितमध्ये २० देखि ५० वर्ष उमेर समूहका १ सय ३७ जना छन्, जुन कुल पहिचान भएको संख्याको ६४ प्रतिशत हो ।

गत वैशाख १३ गते ३६ घण्टामा २ सय ८८ नमुनाको परीक्षण गर्दा २ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो । परीक्षण गरिएकामध्ये करिब ८१ प्रतिशतमा संक्रमण देखिएको हो । तीमध्ये १ सय ३९ जना पुरुष र ९४ जना महिला थिए । संक्रमितमध्ये बाँकेका मात्रै २ सय ८ जना थिए । तिनमा १ सय ८२ जना नेपालगन्ज उपमहानगरका थिए । बर्दियाका १३, कैलालीका २, दाङका २ र अन्य जिल्लाका ८ जना थिए । कुल संक्रमितमध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहका १ सय ७४ जना छन् । जुन कुल संख्याको ७५ प्रतिशत हो । गत वैशाख १२ गते ४ सय ७६ नमुना संकलन गरिएकामा ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये नेपालगन्जका २ सय ३६, कोहलपुरका २५ जना थिए भने बर्दियाको बारबर्दियाका २१ जनामा संक्रमण देखिएको थियो । उमेर समूहमा २० देखि ४० वर्षका सबैभन्दा प्रभावित देखिन्छन् । २० वर्षभन्दा कम उमेर समूहका ५२ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ ।

यो तथ्यांकले नेपालगन्जका घरघरमा कोरोना संक्रमण भेटिएको सहजै अनुमान गर्न सकिन्छ । लक्षण देखिएकाको मात्रै परीक्षण गर्दा पनि ठूलो संख्यामा संक्रमण पुष्टि हुन थालेको प्रयोगशालाले जनाएको छ । ‘पछिल्लो दुई सातामा बाँकेमा ३ हजार १ सय ७४ जना सक्रिय संक्रमित छन् । तीमध्ये २ हजार ५ सयभन्दा बढी नेपालगन्जका छन्,’ नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले भने, ‘नेपालगन्जका घरघरमा कोरोनाका बिरामी हुन सक्छन् । परीक्षण नगरिएको मात्रै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *