चितवनमा किशोरकिशोरी र युवामा कोरोना संक्रमण बढ्यो, भेन्टिलेटर र आईसीयूमा ३२ जनाको उपचार हुँदै

राष्टिय समाचार

चितवनमा देखिएको कोरोनाको दोस्रो लहरमा युवा र किशोरकिशोरी बढी प्रभावित भएका छन् ।

भरतपुर अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा १४९ नमुनाको परीक्षणमा ६१ जनालाई कोरोना संक्रमण पुष्टि भयो जसमा युवा र किशोरकिशोरीको संख्या बढी पाइएको छ । गत वर्षको कोरोनो संक्रमणको अवस्था हेर्दा युवा र किशोरकिशोरी भन्दा वृद्धवृद्धाको संख्या बढी पाइएको थियो ।

भरतपुर अस्पतालको प्रयोगशालाको तथ्यांक अनुसार शुक्रबारको नतिजामा भरतपुरमा कोरोना संक्रमित पुरुष १७ जना मध्ये ११ वर्षको किशोर देखि ४० वर्षसम्मका युवाहरु १० जना रहेका छन् । त्यस्तै भरतपुरमै महिला २५ जना मध्ये १२ जना १२ वर्षदेखि ४० वर्षका छन् । त्यसैगरी रत्ननगरमा २ जनामा देखिएको संक्रमणमा दुई जना नै २२ र ३३ वर्षका युवा छन् । खैरहनी नगरपालिकामा देखिएको १ जनाको संक्रमण २८ वर्षीय युवा नै छन् । यसरी हेर्दा गत वर्षभन्दा यसवर्ष युवा र किशोरकिशोरीमा संक्रमण बढ्दै गएको देखिन्छ ।

त्यसैगरी जनस्वास्थ्य कार्यालय चितवनले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार चितवनमा देखिएको कोरोना संक्रमित मध्ये सबैभन्दा बढी ३० देखि ३९ वर्ष समूहका पुरुष संक्रमित रहेका छन् । तथ्यांकलाई हेर्दा ५० वर्षपछि संक्रमण दर घट्दोरुपमा रहेको छ । एक महिनाको बच्चा देखि संक्रमण दर बढ्दै गएर सबैभन्दा धेरै संक्रमण युवाहरुमा देखिएको छ । जनस्वास्थ्य कार्यालयको अनुसार भरतपुर अस्पतालमा ८१ जना कोरोना संक्रमित बिरामी रहेका छन् । त्यस्तै नयाँ मेडिकल कलेजमा ३८ जना र पुरानो मेडिकल कलेजमा ३७ जना बिरामी रहेका छन् । जसमध्ये तीन अस्पतालको भेन्टिलेटरमा ८ जना, आईसीयूमा २४ जनाको उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा कोरोनाको उपचारमा अग्रपंक्तिमा खटिएका वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलका अनुसार कोरोना संक्रमण गत वर्ष भन्दा किशोर किशोरी र युवायुवतीमा बढी देखिएको छ । उनले नारायणी अनलाइनलाई भने, ‘ कोरोना संक्रमण दर र लक्षण हेर्दा कोरोनाको नयाँ प्रजाति जस्तै देखिन्छ । औपचारिकरुपमा प्रयोगशालाबाट पुष्टि नभए पनि यो नयाँ प्रजाति नै हो ।’ संक्रमित किशोर किशोरी र युवाहरुको पनि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता परेको उनले नारायणी अनलाइनलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *