केही दिनभित्रै काठमाडौंवासीका घर घरमा मेलम्चीको पानी झर्छ : प्रधानमन्त्री ओली

समाचार

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताएका छन् । शनिबार सुन्दरीजलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै ओलीले भने, ‘काठमाडौंवासीका लागि अब काठमाडौंमा पानी झर्‍यो । अहिले खोलाबाट पानी छाड्यौं । अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं । अहिले पानी आयो काठमाडौंमा पानी झर्‍यो भन्ने हो । केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ ।’त्यसअघि ओलीले बटम थिचेर मेलम्चीको पानी सुन्दरीजलमा झारेका थिए ।

लामो समयदेखि जारी वाग्मती सफाइ अभियानमा पनि मेलम्चीको पानीले सहयोग पुग्‍ने प्रधानमन्त्री ओलीको विश्‍वास थियो । भने, ‘२७ गतेको शिवरात्रीमा सफा पानीले नुहाउन पाइयोस् । वाग्मतीको सफाइमा पनि यसको फ्लसिङले मद्दत गर्छ ।’पहिलो चरणमा काठमाडौंमा १५ हजार घरधुरीमा टेस्ट भइसकेको भन्दै प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंलाई खानेपानी पुग्ने बताए ।सुन्दरीजलमा पानी आउनु नयाँ उचाइको सफलता भन्दै ओलीले काठमाडौंवासीलाई बधाई तथा शुभकामना दिए । उनले थपे- ‘लामो समयको प्रतिक्षा अब पूरा भएका छन् । अब केही दिनभित्र तपाईंहरुको धारामा पानी वितरण हुनेछ ।’

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो । गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो ।सुन्दरीजलम आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *